काठमाडौं ७ असार । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन् ।
विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन महामन्त्रीद्धय आयोग जान लागेका हुन् । आज मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख दिनेश प्रसाद थपलियालाई भेट्न समय समेत तय भएको छ ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेकोले ‘सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण समेत गराएको महामन्त्री शर्माले बताएका छन् ।
आज आयोगमा विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने बताएका छन् ।