राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्दिय अध्यक्ष भवानी प्रसाद खरेलले अधिकार माग्ने नभई छिन्ने बताएका छन् । कसैको मानव अधिकार हनन भए पाएन भनेर माग्ने नभई छिन्ने उनले बताए । प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको शनिबार भक्तपुरमा भएको छैठौं साधारण सभाको उदघाटन गर्दै उनले त्यो क्रममा भौतिक आक्रमण भने गर्न नहुने बताए । नियमसंगत रुपमा आन्दोलन गरी अधिकार लिनुपर्ने उनले बताए ।
फरक प्रसंगमा उनले पछिल्लो समय आफूहरुलाई पनि दुई करोड रुपैयाँंको प्रस्ताव आएको तर भारतीय राजदूतावासलाई लिन नसक्ने व्यहोरासहितको सरी लेटर लेखेर पठाई नलिएको दावी गरे । आफनो संगठन सदस्यहरुको सदस्यता शुल्क अनि मनकारी नेपालीहरुको सहयोगबाट चलेको उनको दावी छ । नेपालमा एक सय ५० वटाको हाराहारीमा मानव अधिकार संगठनहरु रहेको तर ती मानब अधिकार संगठनहरुमध्ये आफूहरुले विदेशी पैसा नलिएको दावी उनले गरे ।
उनले स्वदेशी सहयोग भने लिएको खुलाए । स्थानीय स्तरमा जिल्ला संगठनहरुले नगरपालिका, जिल्ला समन्वय समिति, गाउँपालिका आदिसँंग सहयोग लिएर कार्यक्रम गर्न छुट दिएको उनले बताए । स्थानीयस्तरमा जिल्ला प्रतिष्ठानहरुको काम प्रभावकारी देखेर स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरुले वजेट दिएर काम गर्न दिए गर्न सकिने उनले जनाए । उनले प्रतिष्ठानमा कर्मचारीबाहेक कसैले पनि एक पैसा कहीकतैबाट नपाउने बताए ।
अहिले हामी भक्तपुरको सुदुरपूर्व यस ठाउँंमा जिल्ला अधिवेशनमा पुगेका छौं, यहाँंसम्म पुगेबापतको ट्याक्सी खर्च यताउता भनेर हामी संस्थासँंग एक पैसा पनि लिंदैनौ, आफनै व्यक्तिगत खर्चबाट आउँंछौं, उनले भने । कार्यक्रममा प्रतिष्ठानका महासचिव हरिचन्द्र भटराई, नेपाल मानव अधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर, जिल्ला अध्यक्ष डा राजेन्द्र कोजू, सचिव संजीव खनाल, कोषाध्यक्ष कोषाध्यक्ष प्रभा थापाले पनि मानव अधिकारका विविध पक्षमा आआफनो धारणा राखेका थिए ।