एमाले स्थायी कमिटीले गर्‍यो यस्ता आठ निर्णय — OSNepal

एमाले स्थायी कमिटीले गर्‍यो यस्ता आठ निर्णय

LC (KTM) October 22, 2021 0

काठमाडौं – नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो ।

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी, भाइचारा पार्टी र देशभित्र विभिन्न राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ ।

बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर