पाँचथर-पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पहिरामा पुरिएर थप दुई जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरेसँगै मृतकको सङ्ख्या २८ पुगेको हो । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ की सहमाया आङ्देम्बे र सोही गाउँपालिका–२ की गीता राईको पहिराले पुरिएर मृत्यु भएको हो । उनीहरुको उमेर भने खुल्न सकेको छैन । पाँचथर प्रहरीले यसअघि नै २६ जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरिसकेको छ ।
पाँचथरमा अझै छ व्यक्ति बाढी तथा पहिरामा परी बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्तामध्ये दुई जना इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरु पहिरामा परी घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका स्थानीयवासीको उपचारमा आएका थिए ।
यस्तै पाँचथरमा बाढी तथा पहिरामा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये मिक्लाजुङ गाउँपालिकाका चार जनालाई उद्धार गरी थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।