स्वास्थ्यले राम्रो साथ नदिएकै कारण चलचित्र ‘उचाइ’को छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल नआएको खुलासा — OSNepal

स्वास्थ्यले राम्रो साथ नदिएकै कारण चलचित्र ‘उचाइ’को छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल नआएको खुलासा

LC (KTM) October 21, 2021 0

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ ।

नेपालमा अमिताभ बच्चन भने आउनुभएको छैन । स्वास्थ्यले साथ नदिएका कारणले उहाँ आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताउनुभयो । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिनुभएको छ । चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल ९डुप्लिकेट०को भूमिका राजा चौधरीले निभाइरहनुभएको बताइएको छ ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारीदिनुभयो । चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहनुभएको छ । हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहनुभएको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो ।

कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिने जनाएको उहाँले बताउनुभयो । जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर