कञ्चनपुर, ४ कात्तिक-हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताउनुभयो । “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ”, उहाँले भन्नुभयो । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उहाँले बताउनुभयो ।
“मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ”, उहाँले भन्नुभयो । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो । (रासस)