काठमाडौं, ४ कात्तिक – श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह ‘ए’बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने पहिलो टोली बनेको छ ।
जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो ।
आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २४ रन बनाए ।
श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए ।
यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ६१ रन जोडे ।
आयरल्यान्डका तीब्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा ४ विकेट लिए ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह ‘बी’मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् ।
पहिलो चरणको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन् ।
समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।
शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।