आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आयोजक ओमानले विजयी सुरुआत गरेको छ । पहिलो चरणको आज भएको पहिलो खेलमा पपुवा न्यु गिनी पीएनजी लाई १० विकेटले हराउँदै ओमानले बिजयी सुरुआत गरेको हो । अल अमारत स्टेडियममा भएको खेलमा पहिले ब्याटिंग गरेको पीएनजीले १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । पीएनजीले दिएको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षतीमा पूरा गरेको थियो ।
ओमानको सानदार जितमा ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धशतकीय इनिङ्स खेलेका थिए । जतिन्दरले अविजित रहदै ७३ रन बनाउँदा अकिबले ५० रन बनाएका थिए । यस अघि पहिले ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको थियो । पहिलो पटक विश्वकप खेलेको पीएनजीका लागि कप्तान असाद भालाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ओमानका जिसन मक्सुद एक्लैले ४ विकेट लिए ।
कालिमुल्लाह र बिलाल खानले दुई दुई विकेट लिएका थिए । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।