भलिबल खेलाडीको दसैँ : एनभीए विजेताको उत्सव, केहीको खल्लो — OSNepal

भलिबल खेलाडीको दसैँ : एनभीए विजेताको उत्सव, केहीको खल्लो

LC (KTM) October 14, 2021 0

काठमाडौं, २८ असोज-नेपालीको महान् चाड बडादसँै भित्रिसकेको छ । यतिबेला बडादसैंको हर्ष र उल्लास छाएको छ । आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो दसैं । महान् चाड दसैंबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन । अझ नेपालको राष्ट्रिय खेल भलिबल त्यसबाट टाढा रहनै सक्दैन । ८ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राष्ट्रिय खेल भलिबल घोषणा भएको हो ।

तर, हालसम्म भलिबल संघले आफ्नो एउटा स्तरीय भलिबल कभर्डहल पाउन सकेको छैन । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभागीय आर्मी क्लबको कभर्डहलमा विभिन्न प्रतियोगिता हुुँदै आएका छन् । नेपालमा अझै पनि भलिबल खुला मैदानमा खेलिँदै आएको छ । भर्खरै मात्रै नेपाल भलिबल संघ (एनभीए)ले आफ्नो छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप समापन गरेको छ ।

दसैँको मुखैमा प्रतियोगिता सकिँदा खेलाडीले समेत घर परिवारसँग बसेर रमाइलो गर्न पाएका छन् । यसअघि प्रतियोगिताको दौरान कति खेलाडी घरसमेत जान नपाउने अवस्था सृजना हुँदै आएको थियो । तर, यसपटक प्रतियोगिता कोरोना महामारीबीच पनि समयमै हुँदा खेलाडीले समेत दसैंमा रमाइलो गर्न पाएका छन् ।

न्युज कारखानाले भलिबल खेलाडीको दसंै योजना कस्तो छ ? खेलाडीले कसरी दसैं मनाउँदै छन् ? कहाँ रहेर दसैं मनाउँदै छन् ? यस विषयमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीसँग छोटो कुराकानी गरेको छ ।न्युज कारखानाले राष्ट्रिय पुरुष भलिबल खेलाडी कुलबहादुर थापा (हरि), मानबहादुर श्रेष्ठ, राजेन्द्र बिष्ट, महिला खेलाडी प्रतिभा माली र उषा भण्डारीसँग दसैं योजनाबारे जिज्ञासा राखेको छ ।

कुलबहादुर थापा, नेपाल पुलिस क्लब-मेरो यस पटकको दसैँ छैन । परिवारमा जुठो परेको छ । यसैले यो पटकको दसैं हुँदैन । घर आएको छु । अघिल्लो साल बिरामी (ढाडको समस्या) भएका कारण पनि घरमै बसेर दसैं मनाएको थिएँ । टीका नभए पनि घर परिवार र साथीहरूसँग भेटघाट समय राम्रो भएको छ ।

मान बहादुर श्रेष्ठ, त्रिभुवन आर्मी क्लब-दसैं यस पटक घर (नवलपरासी) मा मनाउने भएका छौं । परिवार जम्काभेटमा दसैं राम्रो बनाउने सोचमा छु । घरमा नयाँ सदस्य (पुत्र लाभ)को आगमन भएको छ । अघिल्लो सालको दसैं राम्रो भएको थियो । यस पटक पनि खेल (एनभीए पुरुष तर्फ हेल्प नेपाललाई पराजित गर्दै आर्मी च्याम्पियन)राम्रो भएर दसैंको छुट्टि दिएको छ । खेल जितेर दसैं मनाउन पाएका छौं । धेरै खुसी छु । यस पटकको दसैं विशेष भइरहेको छ ।

राजेन्द्र विष्ट, त्रिभुवन आर्मी क्लब-काठमाडौं नै छु । मेरो दसैं काठमाडौंमा नै हुन्छ । परिवार यतै छौं । बुबाआमा घरमा (दार्चुला) हुनुहुन्छ । दाजुहरू पनि सबै काठमाडौं नै हुनुहुन्छ । साना बच्चाहरू हुँदा घर जान पनि सम्भव भएन । अहिले बिदामा छु । एनभिए च्याम्पियनसिप जितेपछि हामी खेलाडीले छुट्टि पाएका छौं । दसैंभर मिठोमिठो खाने परिवारसँग रमाइलो गर्ने नै हो । यस पटक मन्दिर दर्शन गर्ने योजना बनाएको छु ।

प्रतिभा माली, न्यु डायमण्ड एकेडेमी -दसैंमा त्यस्तो विशेष भनेर केही हुँदैन । घरमा पूजा गर्ने भोज खाने हुन्छ । घरपरिवारसँग टीका लगाउँछौँ । अघिल्लो सालको दसैँ परिवारमा जुठो परेर मनाएनौँ । यस पटकको दसैँमा अरुको भन्दा मेरो केही विशेष हुन्छ । किन भन्दा हामी टिमका खेलाडीले खेल खेलेर दसैँ मनाउँछौँ । बहिनी (न्यु डायमण्ड एकेडेमी खेलाडी)हरू पनि काठमाडौंमा हुन्छन् । घर नगएका बहिनीहरूसँग एकेडेमी पुगेर खेल्छौँ । एनभीए महिला च्याम्पियनसिप जितेपछि केही रमाइलो गर्ने योजना थियो । तर, दसैँले गर्दानै धेरै खेलाडी घर जाँदा त्यो रमाइलो भने छुटेको छ । घरबाट फर्केपछि त्यो रमाइलो पनि हुन्छ ।

उषा भण्डारी, नेपाल पुलिस क्लब -यस पटकको दसैँ पाल्पा (गृहजिल्ला)मा मनाउँछु । मामा घर (सामाखुसी) जाने कुरा थियो । एनभीए हारेपछि जाने कुरा भएन । समय पनि भएन । अनि मामा घर गइँन । बनस्थलीमा ठूलो बाबा हुनुहुन्छ, त्यता नै जान्छु । दसैपछि अभ्यास फेरि सुरुवात हुन्छ । त्यसैमा केन्द्रित छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर