मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर — OSNepal

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

LC (KTM) October 13, 2021 0

कर्णाली, २७ असोज-मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । भारतको पञ्जाबमा मङ्गलबार आयोजित कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा आरएस बावले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारी पत्र लागू हुनेछ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासङ्गिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताउनुभयो । हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरुको सहभागिता थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर