कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए र अहिले उनि संक्रमण मुक्त भैसकेका छन् ।
यस्तै, कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए । सामाजिक संजालमा उनले लेखेका थिए–‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो ।क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।
म होम आइसोलेसनमा छु र श्रीमतीको उच्च रेखदेखमा छु । मनोबाल उच्च छ, आशा छ चाडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’ उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।यस्तै कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी थिइन् । सामाजिक संजालमार्फत उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी थिइन् अहिले उनि पनि संक्रमण मुक्त भैसकेकी छन् ।
कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक ऋषि लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिएको छ ।चार दिनदेखि अस्पतालमा उपचारार्थ लामिछानेले मंगलवार आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । अस्पतालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरिर, मन र मुटु मात्र हुन्छ, यहाँ त सपना पनि, विपना पनि, कल्पना पनि सबै दुख्दो रैछ । पूरा जीवन दुखेको छ ।’
कोभिडको खोप लगाएर स्वास्थ्य लाभ गरिरहेका उनी अगाडि लेख्छन्, ‘अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी हस्पिटलको नबौं तल्लाबाट बाहिर हेर्दै चिच्याएर कराउन मन लागेको छ । बिहानै हेरचाह गर्ने बहिनीले भनिन् पल्लो कोठामा कोरोनासँग लड्दै गरेका एकजना दाईले भन्नुभयो रे- कहिले काहिँ मृत्युभन्दा जीवन असहज लाग्दो रैछ ।’
उनको स्टाटसमा फिल्मकर्मीहरुले मनोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । निर्देशक लामिछानेले ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका फिल्म निर्देशन गरेका छन् । पारिवारिक प्रेमकथामा मनछुने फिल्म बनाउन सिपालु मानिने उनले ‘हवल्दार सुन्तली’ पछि नयाँ फिल्म निर्देशन गरेका छैनन् ।