कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सान्त्वना दिँदै प्रहरी — OSNepal

कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सान्त्वना दिँदै प्रहरी

LC (KTM) May 23, 2021 0

कैलाली – कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा पिसिआर परीक्षण पोजेटिभ आएका सङ्क्रमितलाई प्रहरीले फोन गरेर अवस्था बुझ्ने, बसाइँ र खानपानबारे सोध्ने गरेको छ । प्रहरीले सङ्क्रमितको मोबाइलमा फोन गरेर अवस्था बुझ्नाका साथै उपचारका लागि आवश्यक एम्बुलेन्स र अक्सिजनका लागि नआत्तिन आग्रह गर्न थालेको छ ।

शनिबार कैलालीको टीकापुरमा पिसिआर पोजेटिभ आएकी २४ वर्षीया एक युवतीलाई प्रहरीको मोबाइलबाट फोन आयो । “म इलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी हो, तपाईंलाई कस्तो छ भन्यो, मैले आफ्नो अवस्थाबारे जानकारी दिए, प्रहरीले एम्बुलेन्स नपाए प्रहरीको गाडी छ, हामी तपाईंलाई अस्पताल लैजान्छौँ, अक्सिजन नपाए हामी जोहो गर्छौं, ढुक्कसँग बस्नुस् है भन्यो”, युवतीले भन्नुभयो, “प्रहरीले सङ्क्रमित धेरैलाई निको हुन्छ, निको भएकाहरुका उदाहरण दिएर हौसला बढायो, म त निकै आत्तिएकी थिएँ, प्रहरीको फोनपछि उपचार नपाएर मरिन्न भन्नेमा ढुक्क भए ।”

त्यस्तै टीकापुरकै ४१ वर्षीय एक युवकमा पनि कोरोनाका लक्षण देखिएपछि युवकले पिसिआर परीक्षण गर्नुभएको थियो । युवकको शनिबार आएको नतिजा पोजेटिभ देखियो । युवकको मोबाइलमा सङ्क्रमित भएको म्यासेज आयो । घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका युवक धेरै आत्तिनुभयो । उहाँलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन नपाउने चिन्ताले सतायो ।

शनिबार दिउँसो उहाँको मोबाइलमा प्रहरी कार्यालयबाट फोन आयो । “तपाईं सुरक्षित हुनुहुन्छ नि ?, केही समस्या त छैन, समस्या भए नआत्तिनु हामी छौँ भन्यो”, युवकले भन्नुभयो, “म त निकै खुशी भए, सङ्क्रमित भनेपछि परिवारकै सदस्यले घृणा गर्ने अभ्यास समाजमा छ, सङ्क्रमित र सङ्क्रमितका परिवारलाई छिमेकीले वास्ता नगर्ने अभ्यास समुदायमा चलेका बेला प्रहरीले फोन गर्दा अप्ठ्यारोको साथी पाएजस्तै भयो, म त समस्या भए अब प्रहरीलाई फोन गर्छु ।”

प्रहरीले टीकापुर क्षेत्रमा सङ्क्रमित देखिएकाको रेकर्ड लिएर उनीहरुको अवस्था बुझ्ने काम गरिरहेको छ । प्रहरीले यो कार्य टीकापुर अस्पतालसँगको सहकार्यमा गरिरहेको छ । सङ्क्रमितलाई अनावश्यक नहिँड्न, घरभित्र सुरक्षित रहन, स्वास्थ्य समस्या भए अस्पताल जान आग्रह गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिनुभयो ।

“हामीले अस्पतालसँगको सहकार्यमा टेलिफोन सेवा शुरु गरेका हौँ, हामीले हाम्रो कार्यक्षेत्रभित्रका सङ्क्रमितलाई फोन गर्छौं”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “अस्पतालसम्म जान आवश्यक एम्बुलेन्स वा साधन, औषधि उपचारमा समस्या भए सघाउने, अस्पतालसम्म पुगाइदिने काम थालेका छौँ ।”कैलालीका घरघरमा सङ्क्रमित थपिन थालेका बेला प्रहरीले थालेको यो अभियानले उनीहरुको हौसला बढाउने काम भएको छ । सङ्क्रमित नआत्तिउनु, स्वास्थ्य समस्या जटिल भए समयमै उपचारमा जाउन भन्नका लागि प्रहरीले थालेको यो अभियानले सङ्क्रमितको मनोबल बढाउने काम गरेको चिकित्सकको भनाइ छ ।

“हामी चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पतालमा उपचारमा व्यस्त रहन्छौँ, यस्तो बेला समुदायमा सङ्क्रमित भएर होम आइसोलनशनमा बसेकाको मनोबल पनि बढाउन जरुरी छ”, टीकापुर अस्पतालका निमित्त प्रमुख चिकित्सक रेमकुमार राई भन्नुहुन्छ, “हामीले प्रहरीसँग सहकार्य गरेर सङ्क्रमितलाई थप जोखिमबाट जोगाउन, स्वास्थ्यप्रति सचेत रहनका लागि के गर्न सकिन्छ भनी छलफल गर्दा उहाँहरुले हामी टेलिफोनबाट बुझ्ने काम गर्छौं भन्नुभयो र सघाइरहनुभएको छ, यसले धेरै सहज भएको छ ।”

मनोसामाजिक परामर्शकर्ता धनराज विक सङ्क्रमितलाई पछिल्लो समय समाजमा गरिने व्यवहारले समाजमा रहेको एकता र मेलमिलाप बिग्रँदै गएको बताउनुहुन्छ । “सङ्क्रमित र तिनका परिवारलाई छुवाछूत गर्न थालिएको छ, यो रोग पो हो, छुवाछूत गर्ने त होइन नि”, मनोसामाजिक परामर्शकर्ता विक भन्नुहुन्छ, “सङ्क्रमितलाई हौसला दिने सबैभन्दा ठूलो काम छिमेकीले गर्नुपर्छ ।”

हालसम्म पिसिआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा दुई लाख नौ हजार २२८ नमूना परीक्षण गर्दा ३५ हजार ११९ मा सङ्क्रमण फेला परेको छ । कैलालीमा मात्र करीब १० हजार सङ्क्रमित पुगेका छन् । सुदूरपश्चिममा एक हजार ४०० बालबालिकालाई सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार गत वैशाखमा पिसिआर परीक्षणबाट कूल १४ हजार ९४५ सङ्क्रमित थपिएका छन् । त्यसमा १९ वर्षमुनिका मात्र एक हजार ४३४ बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर