काठमाडौँ २६ असोज । नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वहरु केवल पर्व र उत्सवहरु मात्रै नभएर सामाजिक प्रवन्धका आधार पनि भएको बताएका छन् । अध्यक्ष ओलीले विजयादशमी २०७८ को अवसर पारी एक शुभकामना सन्देश मार्फत यस्तो बताएका हुन् ।
नाता, साइनो र सम्बन्ध, तिनका महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रवन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले अत्यन्तै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेको गरेको ओलीले सन्देशमा भनेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ,’सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन्,’ हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रवन्धहरुका आधारमा विकसित भएका छन् । त्यसैले यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ,’ सन्देशमा भनिएको छ’ ।
देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पुरा गर्नुपर्ने बताएका उनले सन्देशमा भनेका छन्, हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पनि पूरा गर्नु छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।’
चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई हटाउनु आवश्यक रहेको भन्दै उनले चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउनु आवश्यक रहेको बताएका छन् ।