सुदूरपश्चिम, २५ असोज-बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । मुख्य चाड बडादसैँ मनाउँदै धान बाली पनि भित्र्याउन थालिएको किसानले बताएका छन् । धनगढी उपमहानगरपालिका–१३ का किसान नारायण चौधरीले खेतमा पाकेर झुलिसकेको धान बाली वर्षा भएमा बिग्रिने डरले हतारहतारमा धान भित्र्याउनुपरेको बाध्यता सुनाउनुभयो । “दसैँ पनि खुशीका साथ मनाइँदै छ”, उहाँले भन्नुभयो, “दिनदिनै बदली भएर देखिने खराब मौसमका कारण धान बाली पनि भित्र्याउनै पर्ने बाध्यता देखिएको छ ।”
अधिकांश किसान यति बेला धान काट्ने र काटेको धानलाई थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन् । कोरोनाको जोखिम नहटिसकेको भए पनि मास्क र स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको भने देखिँदैन ।
यद्यपि कोरोनाबाट जोगिन एकआपसमा भौतिक दूरी कायम गरेर बाली भित्र्याउने गरिएको र कतिपयले खोप पनि पाइसकेकाले अब कोरोनाको त्यति डर नहुने कतिपय किसानको तर्क पनि छ । धनगढीकै अर्का किसान डबल खातीले भन्नुभयो, “स्वास्थ्य सुरक्षालाई ध्यान दिई भीडभाड नहुने गरी धान काटिरहेकाले कोरोनाको त्यति डर छैन ।”
किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार दोस्रो हप्तासम्म रोपिएको धान पाकेर बाला झुलिसकेको छ । प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।
कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबैभन्दा बढी तराइको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको जनाइएको छ । यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकाले धान बालीको उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यद्यपि धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै केही क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको कृषकको भनाइ छ ।
खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो असजिलो छैन । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रमसमेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज भएको छ । “कृषिको काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, स्थानीय किसान गोपीबहादुर चौधरीले भन्नुभयो, “समयमै मलखाद, बिउबीजन, सिँचाइको सुविधा नहुने समस्या हुँदा भने खेती गर्न समस्या झेल्नुपरेको छ ।”
रासायनिक मलखाद अभाव हुने समस्या रहे पनि यसको जथाभावी प्रयोगले भने माटो बिगिँ्रदै गएको किसानको अनुभव छ । बाली लगाउँदा गोबर (कम्पोष्ट) मलको प्रयोग घट्दै जाँदा यसको विकल्पमा प्रयोग गर्ने गरिएको रासायनिक मलले माटो बिग्रिन थालेको अर्का किसान खातीको अनुभव छ । बडादसैँ र तिहार जस्ता पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्री जस्ता स्थानीय खानाका परिकार पकाएर खाने प्रचलन रहेकाले पनि किसानलाई धान काट्नै पर्ने चटारो पनि देखिएको हो ।
धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आआफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने प्रचलन पनि सुदूरपश्चिम प्रदेशमा छ । गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुशी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ ।