काठमाडौं, २४ असोज- राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई रु १५ हजार जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३÷७४ देखि २०७५÷७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गर्नुभएको थियो ।
साथै, दाहालले उक्त क्याम्पसमा सूचना अधिकारी तोकिएको छ÷छैन भने जानकारी माग्दै सूचना अधकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपीसमेत माग गर्नुभएको थियो । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नु भएको हो ।
पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने ठहर गरेको हो ।
सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताउनुभयो ।पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ । (रासस)