काठमाडौँ, २४ असोज – नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ । दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो । अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको विभागले जनाएको छ ।
खाल्डाको समस्या भएका सडकमा टाल्ने काम सुरु भइसकेको र केही ठाउँमा एक दुई दिनमै काम हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मुग्लिन आसपासका क्षेत्रमा खाल्डा देखिए पनि छिट्टै हट्नेछ ।”
साना खाल्डा भएका ठाउँमा सम्बन्धित डिभिजन कार्यालयका कर्मचारीले नै खाल्डा टालिरहेको र बढी समस्या भएका ठाउँमा मात्रै ठेक्कामार्फत गर्नुपर्ने उपमहानिर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन सडकमा समस्या हुँदा त्यसको समाधान निर्माण कम्पनी आफैँले गर्दछन् ।
कालोपत्र सडकमा पानीले असर पु¥याउने हुँदा वर्षाको समयमा सडकमा खाल्डाखाल्डीको समस्या बढी पाइन्छ । वर्षभर अरु महिनामा खाल्डा पर्नासाथ मर्मतको काम भए पनि वर्षा बढी हुने महिनामा त्यो हुन सक्दैन । गत वर्षमा भदौदेखि नै वर्षा कम हुने भएकाले त्यतिबेला नै मर्मत सुरु हुने गरेको थियो । यो वर्ष वर्षा भर्खरै मात्रै रोकिन थालेकाले मर्मतको काम ढिला सुरु भएको प्रमुख अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि हामीले अति समस्या भएका केही ठाउँमा मात्रै मर्मत गरिएकोमा अहिले सबै ठाउँमा एकै पटक काम सुरु भएको छ ।” विभिन्न जिल्लामा रहको डिजिभन सडक कार्यालयको मुख्य काम नै आफ्नो क्षत्रेमा रहेका सडकमर्मत गरेर राम्रो अवस्थामा राख्नु हो । सम्बन्धित डिभिजन कार्यालयले आफूसँग भएको जनशक्ति र उपकरणमार्फत खाल्डाखाल्डी टाल्दै आएका छन् । सडक विभागले सङ्घीय सडक र पुलमा निर्माण र मर्मत गर्दे आएको छ ।
दसैँमा धेरै नागरिक काठमाडौँलगायत सहरी क्षेत्रबाट घर जाने हुँदा सडकमा चाप बढ्ने गर्छ । यो समयमा सडकको अवस्थाका बारेमा सबैले बढी चासो दिने गरेका छन् । सडक विभागले सडकको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको छ । प्रमुख राष्ट्रिय राजमार्गमा पुग्दा समस्या नपाइएको प्रमुख अधिकारीले बताउनुभयो । (रासस)