दसैँका लागि ज्येष्ठ र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण — OSNepal

दसैँका लागि ज्येष्ठ र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण

LC (KTM) October 10, 2021 0

झापा- झापाको एउटा सहकारी संस्थाले दसैँको अवसर पारेर ज्येष्ठ, एकल महिलालगायत ९३५ सदस्यलाई रु एक करोड सात लाख ४९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज भत्ता स्वरुप सो रकम वितरण गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार ५९२ एकल महिलालाई रु ४७ लाख ३६ हजार, २४२ ज्येष्ठ सदस्यलाई रु १६ लाख ७६ हजार र १२ एकल पुरुषलाई रु ७२ हजार प्रदान गरिएको छ । ७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पु¥याउनका लागि सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख प्रदान गर्दै आएको छ । यो राहतबापत १७ जनालाई रु २६ लाख वितरण गरिएको छ । दिवङ्गत भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रमअन्तर्गत रु १५ लाख ७५ हजार वितरण गरेको छ ।

शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत रु १० हजारका दरले रु ९० हजार प्रदान गरेको छ । कोभिड १९ बाट ज्यान गुमाएका संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा रु १० लाखको अक्षयकोष परिवारका तर्फबाट स्थापना गरिएको घोषणा गरिएको छ । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो । सोही कार्यक्रममा बिर्तामोड–८ का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पु¥याएबापत विशेष सम्मान गरिएको छ । उहाँले आफ्नो श्रीमान्को मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आउनुभएको छ ।

सहाराले जीवन बरदान कार्यक्रमअन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा रु ६० हजार र स्वयं सदस्यको मृत्यु भएमा रु एक लाखदेखि पाँच लाखसम्म राहत प्रदान गर्दै आएको संस्थाका धुलावारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो । सदस्य बिरामी हुँदा रु १० लाखसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे तीन लाखसम्म उपचार खर्च र कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई सात हजारसहित पोषण सामग्री प्रदान गर्ने समेत उहाँले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर