चौंथो संस्करणको ईपीएल टीट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । आज भएको उपाधी भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि उचालेको हो । यो चितवनको पहिलो ईपीएल उपाधि हो । उपाधी जिते संगै चितवनले ५० लाख नगद समेत प्राप्त गरेको छ । उपविजेता पोखराले १५ लाख रुपैया प्राप्त गरेको छ । पहिले ब्याटिंग गरेको पोखराले चितवनलाई १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । पोखराका लागि किशोर महतो एक्लैले ४ विकेट लिए तर पनि जित दिलाउन सकेनन् । त्यस्तै नन्दन यादवले २ विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रनको योगफल तयार पारेको थियो ।
पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाएका थिए । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिएका थिए । उनले मात्र २० रन खर्चिए ।यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालले समान एक एक विकेट लिएका थिए ।