पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेका स्थानीय एकदमै त्रसित जिवन बिताई रहेका छन् । त्यहाँ युरेनियमको खानी फेला परेको धेरै बर्ष भईसक्यो । खानी भेटिए संगै तीनभँगालेका स्थानीयमा भने अनेकौ त्रासको कुराहरु मनमा खेलिरहने गरेको छ । त्यहाँका बासिन्दा युरेनियम खानीकै कारण बिरामी हुने गरेको आशंका गर्ने गर्छन् । जिल्लाको अन्य ठाउँको तुलनामा त्यहा बढी बिरामी हुने कारण उनीहरु त्रसित जिवन बिताउन बाध्य भएका हुन् ।
युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिने घातक पदार्थ रहेको भन्ने उनीहरुको मानसिकता रहेको र त्यसले स्वास्थ्यमा समेत प्रतिकुल असर पुर्याउने गरेको त्यहाका स्थानीयबासीहरुको दाबी रहेको छ । गाउँमा युरेनियम रहेको र त्यसका कारण गाउँलेमा क्यान्सर, शरीरमा घाउँ खटिरा आउने गरेको स्थानीय जीतबहादुर रुम्बा बताउँछन् । त्यहाँ स्थानीयले पानीमा पनि युरेनियम मिसिएकोले धेरै जनाको स्वास्थ्यमा असर गरिरहेको बताएका छन् ।
त्यहाँ पानी कहिले सफा त कहिले पहेलो खालको आउने गरेको छ । तीनभँगालेमा एक डेढ सय परिवारको बसोबास रहेको छ । त्यतिमात्र हैन त्यहाँ वरपर रहेका बोटबिरुवामा समेत युरेनियमको असर देखिने गरेको स्थानीयको दाबी रहेको छ । उनीहरु क्यान्सर हुन्छ भनेर डराई डराई नुहाउने गरेको बताए ।