कोरोनाबाट बच्न १५ दिने सिद्ध महायोग अनुष्ठान आयोजना — OSNepal

कोरोनाबाट बच्न १५ दिने सिद्ध महायोग अनुष्ठान आयोजना

LC (KTM) May 22, 2021 0

काठमाडौँ, ८ जेठ – नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ । जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउन अनुष्ठान आयोजना गरिएको जानकारी दिइयो । कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताउनुभयो ।

सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उहाँको विश्वास छ । पन्ध्र दिनसम्म बिहान पाँच बजेदेखि सात बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ । प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाई छ ।

कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर