वाग्मती, १७ असोज- मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ । अनाधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ ।
हेटाँैडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफरिस गर्दै आएको गुनासो बढेपछि प्रशासनबाट अनुगमन भएको बताइएको छ । यसैगरी प्रशासनले हेटौँडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको अनुगमन गरेको जनाएको छ । सो अनुगमन टोलीमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको सहभागिता थियो । (रासस)