काठमाडौँ-नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा लाग्नुपर्ने बताउनुभएको हो ।
सहमहामन्त्री डा महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि कांग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पार्नुभयो । अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उहाँको भनाई थियो ।
उहाँले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले निरन्तर सक्रिय रहन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उहाँको भनाइ थियो । उहाँले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य कांग्रेसको नेतृत्वमा सम्पन्न भएको बताउनुभयो । पार्टी र संस्थालाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।(रासस)