माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मालेमा आज अबेर राति सम्पन्न भएको खेलमा साविक विजेता माल्दिभ्सलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै पहिलो खेलमा नै बिजयी भएको हुन सफल भएको छ । मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन मनिष डाँगी नायक बने । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई महत्वपुर्ण जित दिलाउन सहयोग गरे ।
माल्दिभ्सका तीन डिफेन्डरलाई उत्कृष्ट ढंगले बिट गर्दै उनले माल्दिभ्सको पोष्टको जाली चुमाएका थिए । उनी नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।आजको खेलमा अधिकांस समय नेपाल माथि माल्दिभ्स हाबी भए पनि गोल गर्न सकेन् । माल्दिभ्सले खेल अवधिभर राम्रो एट्याम्प गरे पनि नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट ढंगले बचाएका थिए ।
आजको यो जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । आजै भएको अघिल्लो खेलमा बंगलादेश बिजयी भएको थियो ।