३१ वर्षीया निशालाई सर्पले डस्यो, त्यसपछि झारफुक गराउँदा यस्तो भयो — OSNepal

३१ वर्षीया निशालाई सर्पले डस्यो, त्यसपछि झारफुक गराउँदा यस्तो भयो

LC (KTM) October 01, 2021 0

कपिलवस्तु, १५ असोज । प्युठानका स्वर्गद्वारी नगरपालिका-३ की ३१ वर्षीया निशा पुनलाई २६ भदौमा सर्पले डस्यो । राति १० बजे शौचालय जाने बेला हरियो रंगको सर्प ( भाइपर) ले देब्रे खुट्टाको बुढीऔंलामा डसेको थियो । सर्पले डसेको थाहा भएपछि पुनको खुट्टा माथि डोरीले कसेर बाँधियो र उपचारका लागि लगियो । स्वास्थ्य संस्था लैजानुपर्ने पुनलाई आफ्नै आफन्तको घरमा झारफुक गरिएको थियो । तीन दिनसम्म झारफुक चल्यो ।

झारफुक चल्दै गर्दा उनको खुटा सुन्निएको थियो । पछि घुँडादेखि मुनि आगोले पोल्दाको जस्तो फोका परेको थियो । घाउ पाक्न लागेपछि मात्र उनलाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याइएको थियो । २८ भदौ राति ११ बजे पुनले उपचार पाउन सफल भइन् ।

उनलाई उपचारका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो । घाउको प्रकृति हेर्दा थप उपचारका लागि बुटवल जान अनुरोध गरे पनि बिरामीका आफन्तले केन्द्रमै उपचार गराइदिन आग्रह गरे । केन्द्रका स्वास्थ्यकर्मीले पुनको उपचारमा चिकित्सकको सल्लाहअनुसार एन्टीबायोटिक, ड्रेसिङ र अन्य औषधि चलाएका थिए । दुई साता उपचारपछि निको भई १० असोजमा उनलाई डिस्चार्ज गरियाे ।

पुनलाई हरियो सर्प (भाइपर) ले डसेको बताइन्छ । भाइपरले टोक्दा हेमोटोक्सीन विष छाड्ने गर्छ, जसले रगतमा भएको रातो रक्तकोष फुटाएर रगतले गर्ने काम रोक्ने गर्छ । गोमन, करेतले न्युरोटक्सिन विष छाड्ने हुँदा स्नायु प्रणालीलाई असर गर्ने गर्दछ । भाइपरले टोक्दा रगतमा रहेको रातो रक्त कोष फाटेर घाउ बनाउने, हर्ट एट्याक आउने समस्या देखिन्छ । यस्ता सर्पले डस्दा टोकेको भागमा बाँध्नु हुँदैन । बाँध्यो भने बाँधेको ठाउँको रगत फाटेर असर पुर्‍याउने गर्दछ । सर्पले डसेपछि जति सके चाँडै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने सर्प संरक्षणकर्ता सुनिल सापकोटा बताउँछन् ।

“सर्पले डसेपछि हामीमा एउटै बुझाई छ, तुरुन्त टोकेको ठाउँभन्दा माथि कसेर बाँध्ने । धेरैलाई थाहा छैन सर्पले डसेपछि कसेर बाँध्नु हुँदैन । सबै सर्पको विष लाग्छ भन्ने छैन र विषालु सर्पले टोक्दैमा विष नछाड्न पनि सक्छ । विषालु सर्पले टोक्दा सयजनामा ७० जनाको हाराहारीलाई विष छाडेको हुँदैन । त्यसलाई ड्राइ बाइट (सुख्खा टोकाइ) भनिन्छ । ड्राइ बाइटमा विष नछाड्ने भएकाले औषधि चलाउनुपर्दैन । धेरै सर्प विषालु पनि हुँदैनन् । त्यही भएर गाउँघरतिर झारफुक गरेर निको गरियो भ्रममा पर्ने गरेका छन्,” सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले भने। सर्पले डसेर मर्नेहरूमध्ये धेरैजसो झारफुकमा विश्वास गर्ने र उपचार गर्न ढिला ल्याउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर