काठमाडौँ-सरकारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।
टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने-अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने उहाँले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ ।
टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने टेलिकमले जनाएको छ ।