भाइरल ज्वरोले लियो ३८ वर्षीय प्रमानन्दको ज्यान — OSNepal

भाइरल ज्वरोले लियो ३८ वर्षीय प्रमानन्दको ज्यान

LC (KTM) September 29, 2021 0

बैतडी, १३ असोज – भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको आज मृत्यु भएको हो । गएको तीन हप्तादेखि ज्वरो आएकामा उहाँलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो । जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिनुभयो ।

भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो । उहाँले भन्नुभयो, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो ।”

अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो । आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ । स्वाबको रिपोर्ट भने आउन बाँकी छ । पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ ।”

मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतकको शव घर लगिएको छ । घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन् । मृतक भट्टका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर