काठमाडौं असोज १३ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफु सभापति शेरबहादुर देउवाको समुहमै रहेको स्पष्ट पारेका छन्
आज बिहान एक कार्यक्रममा सहभागी भएका प्रवक्ता शर्माले दोस्रो पटक देउवाले सभापतिको उम्मेदवार बन्न चाहनु स्वभाविक भएको भन्दै यस्तो बताएका हुन् ।
आफुले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकोले सभापतिका उम्मेदवारहरुसँग परामर्श हुनु स्वाभाविक भएको बताएका उनले भने, ‘तेह्रौं महाधिवेशनमा मैले विमलेन्द्र निधि, पूर्णबहादुर खड्काकै पंक्तिमा रहेर देउवालाई साथ दिएको हुँ । त्यो पनि दोस्रो चरणमा होइन, पहिलो चरणमै । त्यसकारण यसमा अन्यथा सोच्ने कुरा हुन्न ।’
नेपाली कांग्रेस पुरानो पार्टी भएकाले विभिन्न पुस्ता समेटिएको उनले बताएका छन् । ‘कहीँ पुरानो पुस्ताले नेतृत्व गर्छ त कहीँ नयाँ पुस्ताले । नेतृत्व भनेको हरियो रुखजस्तै हो, पुरानो भए पनि नयाँ भए पनि दिने अक्सिजन नै हो । त्यसले पार्टीलाई तरोताजा बनाइराख्छ ‘ कार्यक्रममा शर्माले भने ।
सरकार बनेको दुई महिनामै सरकार असफल भयो भन्न नमिले बताउँदै उनले भने , ‘त्यसो भए त ओलीको सरकार १२ चोटि असफल हुन्थ्यो होला । हामी अहिले महाधिवेशनको तयारीमा व्यस्त छौं । लोकतन्त्रमा निर्वाचन स्वाभाविक भए पनि सरकारले काम गरिरहेको छ, संसद्ले निकास नदिएको पनि होइन । उहाँले त बरु जनादेशको अपमान गरेर संसद् विघटन गरेको हो । सत्ता गठबन्धनमा छलफल नगरी विपक्षसँग सुटुक्क चुनावको तयारी गरेको भन्ने कल्पनै नगरियोस् ।’
वर्तमान सरकार कांग्रेसको मात्र एकल सरकार नभएर गठबन्धन सरकार हो । त्यसैले गठबन्धन दलले नाम नदिएकाले मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । जनतालाई पहिले निर्वाचन होइन, पाखुरीमा खोप चाहिएको छ । प्रधानमन्त्रीको पहिलो प्राथमिकता भनेको पनि खोप खोप खोप नै रहेको उनले कार्यक्रममा बताएका छन् ।