काठमाडौँ १२ असोज । अर्थमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने बताएका छन् ।
आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो जानकारी दिएका हुन् ।
‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन ।’ बैठकमा मन्त्री शर्माले भने ।
उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान नसकिने बताएका उनले हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनको लागि संगठनको हरेक इकालाई उत्पादनसँग जोड्नुपर्छ जोड दिएका छन् । दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउँदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन समेत शर्माले आग्रह गरेका छन् ।
पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान उनले आग्रह गरे ।
उनले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउँदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गरे ।दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पटक आफ्नो सरकारले गरेको भन्दै उनले बैठकमा दलितहरुको लागि आवास योजना पनि अघि सारिएको जानकारी दिएका छन् ।