१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल — OSNepal

१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज-नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा उपाध्यक्ष रावललाई तोकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यसअघि उक्त १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि छ सदस्यीय कार्यदल गठन गरिएको थियो । तर, उक्त कार्यदलमा कसैलाई पनि संयोजक तोकिएको थिएन ।यस्तै, बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई थप गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा पार्टी उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, गोकर्ण विष्ट, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र टोपबहादुर रायमाझी रहेका छन् ।

नेता भट्टराईले कार्यदलको बैठक भोलि बस्ने बताएका छन् । ‘पार्टीका प्रदेश, जिल्ला र तहगत कमिटीको विवाद समायोजन गर्न बनेका कार्यदल रहेका छन्’, उनले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले कहाँकहाँ समस्या देखिएका छन्, त्यसको समाधानका लागि कार्यदललाई जिम्मेवारी दिनुभएको छ ।’देशभरि कहाँकहाँ १० बुँदे सहमति कार्यान्वयन भएको छैन, त्यहाँ कार्यदलले सहजीकरण गर्ने उनको भनाइ छ ।

मोर्चा र जनवर्गीय संगठनमा १० बुँदे कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल तथा मोर्चा फाँटका प्रमुख गोकर्ण विष्ट र टोपबहादुर रायमाझी कार्यदलले नै जनसंगठनको विवाद समाधान गर्ने नेता भट्टराईले बताए ।महाधिवेशन अगावै नै विवाद देखिएका ठाउँको समाधान गरेर आउने अध्यक्ष ओलीले निर्देशन दिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर