काठमाडौं ११ असोज । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल(चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान आफु इच्छुक रहेको बताएका छन् परराष्ट्रमन्त्री नारायण खड्कालाई सन्देश पठाउँदै वाङ यीले यस्तो जनाएका हुन् ।
चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त समेत उनले गरेका छन् । नेपालको लागि चिनिँया राजदुत होउ यान्छीले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी गराएकी हुन् ।
उनले लेखेकी छन्, ‘चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउनुभएको छ । र चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’
परराष्ट्रमन्त्री खड्का नियुक्त भएकै दिन संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि अमेरिका पुगेका छन् ।