काठमाडौं ११ असोज । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई यदि नैतिकता छ भने संसद्बाट राजीनामा गरेर जनतामा जान भनेका छन् ।
आज सोमबार बसेको संसद बैठकपछि बाहिरिने क्रममा नेता भट्टराईले एमालेलाई यस्तो सुझाव दिएका हुन् ।
‘मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ’ । भट्टराईले भने ।
जसले संविधान विपरीत गएर संसद् दुई-दुई चोटी विघटन गर्यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? भन्दै संसदमा नारा लगाउनु आपत्तीजनक भएको बताएका उनले प्रश्न गरे, ‘सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता ? जुन संसद् विघटन गरेको छ त्यो संसद्मा संसदीय मर्यादा कायम गर भन्ने ?’
सरकारले ल्याएको लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक प्रति एमालेले विरोध गरेको भन्दै उनले कालो धनलाई कालै राख्ने त ? भन्दै प्रश्न गरेका छन् ।
‘यहाँ त अवैध धन, कालो धन राखेर कालै काम गर्ने प्रवृति छ ।’ उनले भने ।