राजनीतिमा एमाले अग्लो रुख हो प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ : गोकर्ण विष्ट — OSNepal

राजनीतिमा एमाले अग्लो रुख हो प्रकाशको ताप हो, एक्लै लड्ने सामर्थ्य राख्छ : गोकर्ण विष्ट

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज- नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख भएको बताएका छन् ।आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै विष्टले भने, ‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ ।’

विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बताए । ‘एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामर्थ्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ उनले भने ।

विष्टले कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि उल्लेख गरे ।विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए ।

माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको आरोप थियो ।’देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन,’ उनले भने ।

मार्क्स र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उनको भनाइ छ । ‘विधिको वकालत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर १३ जना स्थायी कमिटीको बैठक राखेनन् । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरिकन विभाजन जानुले उहाँको मुखौटो उदाङ्गो भएको छ,’ उनले भने ।

ओलीको पालामा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले बेठिक भएको उनको भनाइ थियो ।

दल निर्माण गर्न सैद्धान्तिक वैचारिक कारण चाहिने भन्दै अल्पमतमा परे भनेर खोलिएका दल कहिल्यै स्थापित नभएको विष्टले बताए । ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्नुभएको छ । हामी एमालेको झण्डामा एकताबद्ध बनाउँछौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर