काठमाडौं, १० असोज – एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको दोस्रो दिन आज आइतबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरार्ष्ट्रिय खेल मैदानमा हुने चौथो संस्करणको दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।
बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमनेसामने हुने छन् । चितवन सोमपाल कामीको कप्तानीमा खेल्दै छ भने विराटनगरको कप्तानी करण केसीले गर्ने छन् ।
पहिलो खेलमा दुबै टोलीको लक्ष्य सुखद सुरुवात हुनेछ । दुबै टोलीलाई राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडीको साथ रहनेछ ।
दिउँसाे १:३० बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमनेसामने हुने छन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्ने छन् ।
शनिबारदेखि सुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो ।
इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।