काठमाडौं, ९ असोज -सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको मिति पटकपटक सार्नुको कारण संगठन कब्जा गर्ने मनसाय रहेको आरोप लगाएका छन् ।शनिबार काठमाडौंमा कांग्रेस १७ नम्बर वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सिंहले महाधिवेशन सारे स्वीकार्य नहुने चेतावनी दिए । कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उनले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताए ।
‘राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन’ भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । ‘पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ,’ उनले भने । राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पुर्याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।
‘मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिनुपर्छ’
नेता सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो ।
‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन । घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन,’ सिंहले भने, ‘उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्यो ।’