बाइडेनको सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, 'कोभिड नियन्त्रण उन्मुख छ, निरन्तर सहयोग चाहन्छौं' — OSNepal

बाइडेनको सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘कोभिड नियन्त्रण उन्मुख छ, निरन्तर सहयोग चाहन्छौं’

LC (KTM) September 25, 2021 0

काठमाडौं, ८ असोज-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको बताएका छन् ।संयुक्त राष्ट्रसंघीय महासभाका दौरान राष्ट्र प्रमुखसँग अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित भर्चुअल सम्मेलनमा प्रधानमन्त्री देउवाले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरेर कोभिड १९ संक्रमण नियन्त्रणतर्फ गइरहेको बताए ।

देउवाले एक चौथाई जनसंख्याले पूर्ण खोप पाइसकेको र आधा जनसंख्यालाई छिट्टै पहिलो मात्रा खोप उपलब्ध गराउनेतिर आफूहरू लक्षित रहेको बताए ।’आधाभन्दा बढी जनसंख्याले पहिलो मात्रा खोप लगाइसकेको छ । तत्कालै आधा जनसंख्यालाई छिटोभन्दा छिटो पहिलो मात्रा भए पनि खोप उपलब्ध गराउनेतर्फ लक्षित छौं । एक चौथाईले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १० मिलियन डोज आपूर्ति हुने पक्का भइसकेको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले अब १२ देखि १८ वर्ष उमेर समूहलाई लक्षित गरेको र पूर्ण खोप दिने लक्ष्य रहेको बताए । ‘२०२२ भित्र लगाइसक्ने लक्ष्य छ । त्यसका लागि जनशक्ति र संयन्त्रको परिचालन गरिरहेका छौं,’ उनले भने ।अहिले विश्व नै कोभिड-१९ महामारीको प्रकोपसँग जुधिरहेको भन्दै देउवाले नेपालले आफूलाई स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा केन्द्रीत गरेको पनि जानकारी गराए । ‘अक्सिजनको आपूर्ति, अत्यावश्यक स्वास्थ्य सामग्री, परीक्षणको दायरा बढाएको र अन्य क्षमता विस्तारको काम जारी राखेका छौं । आमनागरिकलाई महामारीबारे सचेत गराइरहेका छौं,’ उनले भने ।

कोभिड महामारीमा सहयोगका लागि देउवाले मित्र राष्ट्रहरूलाई धन्यवाद पनि दिए । ‘सहयोगी सम्पूर्ण मित्रहरूमा धन्यवाद । तपाईहरूको साथ सहयोगले विश्व स्वास्थ्य सुरक्षामा सहयोग पुगेको छ । विकासका पनि तपाईहरूको निरन्तर सहयोग चाहन्छौं । सहयोगी मित्रहरूमा फेरि पनि धन्यवाद,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर