भक्तपुर, ९ असोज-हात्ती । कोही हात्तीको अगाडि-पछाडि दौडिदै छन् त कोही हात्तीलाई छ्वाली बाल्दै आगो तपाउँदै छन् । यो दृश्य भक्तपुरको दरबार स्क्वायरकाे हो ।यहाँ शुक्रबार साँझ पुलुकिसि जात्रा मनाइएको छ । इन्द्रका वाहन ऐरावत हात्तीलाई पुलुकिसीलाई रुपमा नगर परिक्रमा गरी जात्रा मनाइन्छ । भक्तपुरमा यो जात्रा मनाएसँगै यसवर्षको इन्द्र जात्रा सम्पन्न गरेको संकत गरिन्छ ।
भक्तपुरको लाकुलाछेंबाट सुरु हुने यस जात्रा नगरपरिक्रमा गराएसँगै सोही क्षेत्रमा आएर दत्तात्रय मन्दिरसँगैको इनारको पानी खुवाएर जलाई जात्रा सम्पन्न गरिन्छ lबाँंस, कागज लगायत सामग्रीको प्रयोग गरी हात्तीको आकार दिई पुलुकिसी बनाइन्छ । बाँंसबाट हाती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराई जात्रा चलाउने छ।
स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाईने संस्कृतिविद् ओम धौभडेलले बताए l पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई नसोधी टिपेको आरोपमा बन्धक बनाएपछि उनलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किंम्वदन्ती रहेको उनले सुनाए ।
जात्रामा एक जना मानिसले पुलुकिसी आएको संकेत गर्दै घण्टी बनाइँ पुलुकिसी नगर परिक्रमा गराउँछन् । यो क्रममा ठाउँंठाउँं, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहार गराउने प्रचलन छ।यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गरिन्छ। परिक्रमाको क्रममा भक्तपुर दरवार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकहरुमा जात्रा हेर्नेहरुको भीड लाग्ने रह्याे ।