बाग्मती प्रदेशका सांसद केशव स्थापितले गरे गाँजालाई वैधानिकता दिन माग — OSNepal

बाग्मती प्रदेशका सांसद केशव स्थापितले गरे गाँजालाई वैधानिकता दिन माग

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज-नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई वैधानिकता दिन माग गरेका छन् ।उनले गाँजालाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका हुन् । गाँजालाई लागुऔषधका रूपमा भन्दा पनि औषधि प्रयोजनका लागि वैधानिकता दिनुपर्नेमा उनले जोड दिए ।‘नेपालमा रहेका युवाहरूलाई गाँजाको सही प्रयोग गरी रोजगारी सिर्जना गर्नुपर्छ’, उनले भने । उनले गाँजालाई औषधिको रूपमा प्रयोग गर्नेबारे माधव नेपाल एमालेका महासचिव हुँदा कुरा गरेको बताए ।

तर, माधव नेपालले गाँजाको प्रचार नगर्न भनेकाले आफूले प्रचार नगरेको उनको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस विषयमा आवाज उठाउन आग्रह गर्दा आफ्नो पार्टीमा लाग्न प्रस्ताव गरेको उनले सुनाए ।गाँजालाई सकारात्मक रूपले प्रयोग गरे देशको कायापलट हुने नेता स्थापितले बताए । आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन प्रयास गर्नेसमेत उनको भनाइ थियो ।

गाँजा वैधानिक अभियानका अभियन्ता राजीव काफ्लेले आफू गाँजालाई वैधानिकता दिलाउन निरन्तर लाग्ने बताए । ‘गाँजा खाने वा ड्रग्स खानेलाई थुनेर राखे मात्र यसको नियन्त्रण हुन्छ भन्ने छैन । यसलाई खुला गरे मात्र यसको उपभोक्तामा कमी आउनेछ’, उनले भने ।अधिवक्ता साम्युन कार्कीले लागुऔषध नियन्त्रण ऐन, २०३३ मै रहेका विभिन्न दफा र प्रकरणमै गाँजालाई वैधानिकता दिनेबारे ठाउँ राखिएको बताइन् ।

गाँजा उद्यमी र अभियन्ता इसा क्षेत्रीले देशमा गाँजा भन्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोणमा फरक परिरहेको बताइन् । ‘महिलाहरूलाई महिनावारी हुँदा गाँजाको तेलले पेटमा मालिस गर्‍यो भने केही हदसम्म पेट नदुख्ने, राति सुत्दा दूधमा गाँजालाई राखी खाए पेट दुखाइ कम हुने हाम्रो अभ्यास छ’, उनले भनिन् । गाँजाको निकै फाइदा रहेको र यसमा निकै प्रोटिनसमेत पाइने गरेको उनको भनाइ रहेको छ । चिकित्सक सम्बोधन आचार्यले गाँजालाई वैधानिकता दिनुपर्ने र यसमा पाइने पद्धार्थले रोगबाट बचाउने बताए ।

गाँजा वैधानिक महाअभियानका अभियन्ता जोसेफ मदन कोइरालाले संसद्‌मासमेत गाँजाले वैधानिकता पाउनुपर्ने विधेयक आइसकेको र त्यसलाई चाँडोभन्दा चाँडो संसद्‌मा टेबुल गर्नुपर्ने धारणा राखे । उनले गाँजाले वैधानिकता नपाएसम्म आफूहरूले अभियान जारी राख्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर