फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा — OSNepal

फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज-चौथो संस्करणको फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । कोरोना महामारीबीच एक वर्ष धकेलिएको इपीएल शनिबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । २३ असोजसम्म लिगमा सम्पूर्ण खेल यहीँ हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनविरुद्ध ललितपुर प्याट्रिएट्स भिड्नेछन् । उद्घाटन सत्रपछिको खेल सवा १२ बजे सुरु हुनेछ ।काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने छ भने ललितपुर युवा ब्याटर कुशल भुर्तेलको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।

यसअघि नियमित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको दुई दिनअघि आएर प्रतियोगिता नखेल्ने जानकारी गराएका थिए । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्रले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । यसपटक ज्ञानेन्द्रसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरी र पूर्वकप्तान पारस खड्कासमेत इपीएलमा देखिने छैनन् । दिपेन्द्रले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रममा चोट बोकेका थिए ।

पारसले समेत प्रतियोगिताको मुखैमा आएर नाम फिर्ता लिएका थिए । यसअघि विराटनगरको कप्तानीसमेत गरेका पारसको नाम क्लबले आयोजकलाई पठाएको थियो । आयोजकले आफ्नो सामाजिक सञ्जालमा विराटनगरको टोलीमा पारस सम्मिलित नाम सार्वजनिक गरेको थियो । तर केही समयमै पारसले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा दुवै टोलीको लक्ष्य महत्वपूर्ण २ अंक हुनेछ । दुवै टोली सुरुवाती खेल गुमाउन चाहँदैनन् । यसपटक दुवै टोलीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी, युवा खेलाडीसहित नाम चलेका ठूला टेष्ट राष्ट्रका खेलाडीसमेत हुनेछन् ।

काठमाडौ किङ्स इलेभेनमा सन्दीपसँगै सुवास खकुरेल, राजु रिजाल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, गुल्सन झासँगै विदेशी खेलाडीमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रहने छन् । यस्तै विदेशी खेलाडीमा जनक प्रकाश, रायन बर्ल र रहमनुल्लाह गुर्बज रहने छन् ।

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले इपीएलका दुई खेल मात्रै खेल्ने छन् । यी दुई खेलमा अफ्रिदी नेपाली क्रिकेट प्रेमी र खेलाडी, मिडिया सबैको नजरमा पर्नेछन् ।

ललितपुर प्याट्रिएट्ससमेत नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथमा बलियो उपस्थित देखाउन चाहन्छ । ललितपुरमा कुशलसँगै पवन सरार्फ, ललित राजवंशी, सन्दीप जोरालगायतका खेलाडी छन् । विदेशी खेलाडीमा अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नाण्डो, शनदुन विराक्कोडी र भुटानका मिक्यो दोर्जी छन् ।

इपीएलमा सहभागी प्रत्येक टोलीले चार खेलाडी अनुबन्ध गर्न पाउँछन् । जसमा तीन खेलाडी मैदान प्रवेश गर्न पाउने छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा सम्पूर्ण टोलीले आफ्नो अन्तिम तयारीसमेत पूरा गरिसकेका छन् ।

यसपटक इपीएलमा सहभागी टोलीको कप्तानी नेपाली खेलाडीले नै गर्नेछन् । ललितपुर प्याट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेसवाकर, काठमाडौँ किङ्स एलेभेनको सन्दीप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामी, विराटनगर वारियर्सको करण केसी र पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

यसपटक विजेताले ट्रफीसहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १५ लाख प्राप्त गर्ने आयोजनकले जनाएको छ । इपीएलको पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो संस्करण विराटनगर वारियर्स र तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिएट्सले जितेका थिए ।

काठमाडौं किंग्स-११

सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सरार्फ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नाण्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर