‘छाउ बार्नेलाई बच्चा पाउन गाह्रो’ — OSNepal

‘छाउ बार्नेलाई बच्चा पाउन गाह्रो’

LC (KTM) September 24, 2021 0

मुगु, ८ असोज- सोरु गाउँपालिका–९, कालैगाउँकी झुप्पा बिक अहिले पनि महिनावारी हुँदा सात दिनसम्म छाउ बार्छिन । उनको घरमा छाउगोठ त छैन । तर महिनावारी हुँदा छाउ बार्ने र घरभित्रै एउटा कोठामा सुत्नुपर्ने बाध्यता छ । महिनाबारी हुँदा उनी अरुलाई छुदिँनन्, उनले छोएको अरुले खाँदा पनि खाँदैनन्, घरका सदस्यहरूले कुराकानी गर्दा पनि टाढैबाट गर्छन ।

झुप्पा एउटा प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाका अधिकांश महिला अहिले पनि महिनावारी भएका बेला समाज र देवी देउता रिसाउने डरले छाउ बार्न बाध्य छन् । महिनावारीका बेला उनीहरू अहिले पनि सात दिनसम्म घर बाहिरै बस्छन् । बिक भन्छिन्, ‘स्थानीय सरकार गठनपछि जनप्रतिनिधिले छुई प्रथा अन्त्य गर्ने घोषणा गरेका थिए । तर स्थानीय सरकार गठन भएको चार वर्ष भइसक्दा पनि छुई प्रथा हट्न सकेको छैन ।’ उनी सरकारको नेतृत्व तहमा महिला नै भए पनि उनीहरूले महिलाको पीडा नबुँझेको दुखेसो गरिन ।

अहिले स्थानीय सरकारको उप्रमुख महिला नै छन् । उनीहरूलाई न्यायिक समितिको संयोजक (न्यायाधीश जस्तै) को जिम्मेवारी पनि दिएको छ । तर उनीहरूले चार वर्षसम्म छुई प्रथाविरुद्ध कुनै पनि अभियान, शसक्तिकरणका कार्यक्रम सञ्चालन नगरेको बिक बताउँछिन् ।

महिनावारी हुँदा आफुले सात दिन मात्रै बार्ने गरे पनि विवाह गरेर घर गएका महिला माईतमा महिनावारी भए अझै बढी बार्नु पर्ने बाध्यता, चलन छ । धामी झाँक्री र देउताको मठमन्दिर भएका घरका महिला महिनावारी हुँदा थप समस्या हुन्छ ।

महिनावारी भए बेला महिलाहरू एकसरो लुगामा चिसो ठाउँमा बस्छन् । दुहुनो गाईभैंसी र फलफूलका बिरुवा समेत छुन नहुने अन्धविश्वास छ । गाईभैंसीलाई छुँदा दूध नदिने र फलफूलका बोट सुक्ने अन्धविश्वास छ । यस्तै अधिकांश गाउँमा पानीको धारा छोएपछि पखाल्नुपर्ने नियम छ ।

स्वास्थ्यकर्मीका अनुसार छाउ बार्नेहरू शारीरिक रुपमा निकै कमजोर हुने हुँदा कलिलो उमेरमै अनुहार चाउरिने, बच्चा पाउन मुस्किल हुने, रक्तअल्पता जस्ता समस्याबाट पीडित बन्ने गरेका छन् । अझ घर बाहिर बस्ने महिलाहरूमाथि बलात्कारको जोखिम समेत छ । साथै किरा फट्यांग्रा, सर्पलगायत जीवजन्तुले टोकेर ज्यानै गुमाउनु पर्ने हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर