बागलुङमा सेतो पुतलीको जोखिम बढ्दै,चर्को बत्ती नबाल्ने र झ्यालमा जाली लगाउन आग्रह — OSNepal

बागलुङमा सेतो पुतलीको जोखिम बढ्दै,चर्को बत्ती नबाल्ने र झ्यालमा जाली लगाउन आग्रह

LC (KTM) September 24, 2021 0

बागलुङ- बागलुङमा सेतो पुतलीको झुस ‘सापु’बाट आँखामा सङ्क्रमण हुने र ज्योतिसमेत गुम्ने अवस्थाको जोखिम बढ्दै गएको छ । जिल्लामा सापु सङ्क्रमण गराउने सेतो पुतली देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । उहाँका अनुसार बजारदेखि गाउँसम्म यस्तो पुतली देखिएका छन् । कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार आँखामा सङ्क्रमण भइ पोखरास्थित हिमालय आँखा अस्पतालमा ६ र बुटवलस्थित लुम्बिनी अस्पतालमा दुई बिरामी उपचारत छन् ।

उनीहरु सबै बागलुङमै सङ्क्रमण भएर गएका हुन् वा उतै सङ्क्रमित भए भन्ने यकिन नभए पनि जोखिम भने बढिरहेको जनाइएको छ । सेतो पुतलीको अण्डाबाट सङ्क्रमण हुने ‘सापु’बाट उनीहरु पीडित भएको पुष्टि भएको हो । “हामीले सबै पालिकाको स्वास्थ्य शाखाबाट बुझ्दैछौँ,” कार्यालय प्रमुख गुरौले भन्नुभयो, “बागलुङ बजारमा पनि सङ्क्रामक पुतली भने देखिएका छन् ।” बालबालिका र वयस्कले पनि ती पुतलीबाट बच्नुपर्ने उहाँले सुझाव दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले एकदुईजनामा सङ्क्रमणको समस्या देखेर रिफर गरेको बताउनुभयो ।

फोकल पर्सन घिमिरेका अनुसार अङ्ग्रेजी बिजोर वर्षमा यो सङ्क्रमण देखिइरहेको छ । दुई वर्षअघि सन् २०१९ मा पनि यो सङ्क्रमणबाट बागलुङका दुईजना पीडित भएको तथ्याङ्क भेटिएको घिमिरेले जानकारी दिनुभयो । “यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउनेबाहेक अन्य विकल्प छैन,” उहाँले भन्नुभयो, “चर्को बत्ती नबाल्ने, बालेको स्थानमा नजिक नजाने, झ्यालमा जाली लगाउने काम गर्नुपर्छ ।” पोखरामा भर्ना भएका बिरामीमध्ये नौ महिनाका बालबालिकादेखि ३४ वर्ष उमेरका भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर