पोखरा-अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार विमानस्थलबाट करिब १० किलोमिटर नजिक ल्याण्डफिल राख्न पाईंदैन । तर, पोखरामा निर्माणाधीन विमानस्थलको उडान रुटमा ल्याण्डफिल साइट छ ।अन्तर्राष्ट्रिय उडानको लागि त्यहाँबाट ल्याण्डफिल हटाउनुपर्ने पहिलो सर्त छ । विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, ल्याण्डफिललाई स्थानान्तरण गर्न पोखरा महानगपालिकाले चासो दिएको छैन । चार पटकसम्म विमानस्थल आयोजनाले ल्याण्डफिल हटाइदिन महानगरलाई पत्र पठाएपनि चासो नदिएपछि विमानस्थललाई टाउको दुखाइ बनेको छ । निरन्तर काम भइरहे अन्तर्राष्ट्रिय उडानको मिति नजिकै आइसक्यो ।
फोहोरमाथी चराचुरुङ्गी उड्ने र जहाजसँग ठोक्किने सम्भावना भएकोले विमानस्थल नजिक र विमान उड्ने रुटमा ल्याण्डफिल राख्न नमिल्ने अन्तर्राष्ट्रिय मापदण्ड हो । २०६१ सालमा १५ वर्षको आयू तोकेर ल्याण्डफिल बनाइएको हो । डिजाइनको हिसावले अब त्यहाँ फोहोर फाल्न पाइँदैन । विमानस्थलका कारण मात्र होइन, प्राविधिक हिसावले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । आयोजनाले गएको डिसेम्बर महिनासम्म ल्याण्डफिल सार्न भदौ २०७६ मा परिपत्र गरेको थियो । त्यसपछि पनि पटक–पटक औपचारिक र अनौपचारिक आग्रह गरिरहेको छ ।
‘धेरै पटक भनिसक्यौं । अब त टड्कारो समस्या भइसकेको छ । ल्याण्डफिल नहटाउँदासम्म विमान उड्नै सक्दैन,’ आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘महानगरले हाम्रो आग्रह सुनेन । एयरपोर्ट मात्र बनेर हुँदैन । सहायक व्यवस्थापन अनिवार्य छ ।’
परिपत्रपछि पोखरा महानगरले जग्गा खोजबिनका लागि समिति नै गठन गरेको थियो । समितिले लामो अध्ययनपछि बल्ल सम्भावित जग्गाहरूको सूचीसहितको प्रतिवेदन दिएको छ ।
बुधबार उपमेयर मन्जुदेवी गुरुङलाई समितिका संयोजक जीवन आचार्यले प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनले चार ठाउँमा जग्गाको पहिचान गरेको छ ।
पोखरा–३३ भरतपोखरीको दुई ठाउँ, वडा नम्बर १३ र १६ का जग्गाहरू उपयुक्त हुने आचार्यले बताए । ‘प्राथमिकता छुट्याएका छौं । अहिले हेर्दा सबैभन्दा उपयुक्त १६ नम्बरको जग्गा छ । चाहिएजति जग्गा चलाउन सकिन्छ,’ उनले भने, ‘१३ नम्बरको पनि राम्रै छ । अब कार्यपालिकाले निर्णय गर्छ ।’ आउँदो कार्यपालिका बैठकले जग्गाको टुंगो लगाउने उनको भनाइ छ ।
अहिले हेरिएको पुँडीटार क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने प्रस्ताव छ । त्यसैले १६ नम्बरमा जोड गरिएको उनले बताए ।
‘सार्वजनिक एक सय रोपनी जति छ । व्यक्तिको जग्गा किन्न सकिन्छ । लालपूर्जा भएको दुई सय ३१ रोपनी छ,’ उनी भन्छन्, ‘रोड एक्सेसको समस्या रहँदैन । अलिकति २० नम्बर वडाको स्वीकृति खोज्नुपर्छ । त्यो महानगरले मिलाउँछ ।’
उनका अनुसार ल्याण्डफिल व्यवस्थापन गर्न कम्तिमा डेढदेखि दुई सय रोपनी जग्गा चाहिन्छ । ‘प्राविधिकको सुझाव चाहिन्छ । उनीहरूले हेर्नुपर्छ,’ आचार्य भन्छन्, ‘अन्यत्रको अभ्यास पनि हेर्नुपर्यो । तर, विमानस्थलबाट १३ किलोमिटर आकाशको दूरी भने पोखरामा सम्भव छैन ।’
आयोजनाले १३ किलोमिटर पर ल्याण्डफिल सार्न सिफारिस गरेको थियो । अर्का सदस्य मोहन बास्तोलाले १६ नम्बरको जग्गा नै उपयुक्त भएको बताए । वातावरणीय प्रभाव मुल्यांकन र अन्य सम्भावित जोखिम आँकलन भएको छैन । नयाँ ल्याण्डफिल बनाउँदा कम्तिमा एक अर्ब खर्च लाग्ने अनुमान छ । यो रकमसमेत प्राधिकरण र सरकारसँग माग गरिएको छ । तर, बजेट प्राप्त भइसकेको छैन । बसाइसराइ र बढ्दो सहरीकरणका कारण पोखरामा फोहोर उत्सर्जन झनै बढेको छ ।
चार वर्षअघि गरिएको एक सर्भेक्षणले दैनिक डेढसय टन फोहोर उत्पादन हुने देखाएको छ । वार्षिक हिसाव गर्दा महानगरबाट ३५ हजार टनभन्दा बढी फोहोर उत्पादन हुने आँकडा छ । त्योमध्ये ३२ प्रतिशतभन्दा बढी नकुहिने खालको छ भने अरु कुहिने फोहोर छन् । हालको ल्याण्डफिल दुई सय रोपनीमा फैलिएको छ ।