विराटनगर, ७ असोज-नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास काण्डको बचाउ गर्दै आफू जग्गा कारोबार गर्ने नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउँदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो नभएको बताएका हुन् ।१९ महिनापछि गृहजिल्ला सुनसरी आउने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको दोहोर्याए ।
जग्गासम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनको भनाइ थियो । ‘तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीहरूलाई पनि कारवाही हुनुपर्यो’, उनले भने, ‘म मात्र कसरी परेँ, निर्णय गर्ने सब, कारवाही भोग्ने बेलामा म मात्र ?’उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बारेमा समेत प्रश्न उठाएका छन् । जो प्रधानमन्त्री हो, उसैले आयोगका पदाधिकारी नियुक्त गर्ने गरेका कारणसमेत निर्दोषलाई दोषी देखाउने गरेको उनको आरोप छ ।
‘ललिता निवाससम्बन्धीको फाइल मात्र मन्त्रिपरिषद्को बैठकमा मैले पेस गरेको हुँ’, उनले भने ।उनले योजना बनाएरै फसाए पनि अदालत र जनताबाट न्याय पाउने विश्वास व्यक्त गरे । ‘मेरा लागि न्यायधीश भनेको नै जनता हो, उहाँहरूले साथ दिनुभयो भने झूटा मुद्दाले केही पनि गर्दैन । म जनताको शरणमा आएको छु’, भावुक हुँदै गच्छदारले भने ।आफू मन्त्रिपरिषद्को सदस्य मात्र भएकाले सरकारले सक्छ भने दोषी देखिए त्यस समयका गृहमन्त्री भीम रावल र मन्त्री विद्यादेवी भन्डारीलाई समेत कारवाही गर्न उनले माग गरे ।
५१ वर्षको आफ्नो राजनीति सखाप बनाउन खोजिए पनि जनतको साथ पाएकाले आफूलाई कुनै असर नगर्ने उनको भनाइ थियो । उनले आफूले अहिले सम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी पनि गरे । ५१ वर्षको राजनीतिक जीवनमा एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण दिए आफू मृत्युदण्डका लागि पनि तयार भएको उनले बताए । जनताले दोषी भनेमा फाँसीका लागि समेत तयार रहेको उनको भनाइ थियो ।