कोभिड वार्ड भरिएर भयावह स्थिति आएपछि अस्पताल परिसरमा त्रिपाल टाँगेर बिरामीको उपचार गर्दै भेरी अस्पताल — OSNepal

कोभिड वार्ड भरिएर भयावह स्थिति आएपछि अस्पताल परिसरमा त्रिपाल टाँगेर बिरामीको उपचार गर्दै भेरी अस्पताल

LC (KTM) May 21, 2021 0

बाँके- बाँकेकै अन्य अस्पतालले शय्या अभावको कारण देखाउँदै बिरामी फिर्ता गरे पनि भेरी अस्पतालले आएका बिरामीलाई उपचार गर्ने गरेको छ कोभिड वार्ड दिनहुँ भरिएर झन् भयावह स्थिति आएपछि अस्पताल परिसरमा त्रिपाल टाँगेर भएपनि उपचार गर्नु परेको भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा सङ्केत रिसालले बताउनुभयो । अस्पतालमा सङ्क्रमित बिरामीको चाप थेग्न नसक्ने भएपनि अस्पतालमा आइसकेको बिरामीको उपचार गर्ने अस्पतालको दायित्व पनि भएको उहाँको भनाइ छ ।

डा रिसालका अनुसार, भेरी अस्पतालमा प्रायःरेफर भएर नै सिकिस्त खालका सङ्क्रमित बिरामी आउने गरेका छन् । सिकिस्त बिरामीको उपचार अक्सिजनबिना सम्भव छैन । बढी सिकिस्त बिरामीको हकमा अवस्था हेरेर भेन्टिलेटर र आईसियुमा राख्ने गरिएको छ ।सबै शय्या, टेन्ट, भुईं र बरण्डा बिरामीले भरिएका छन् । जताततै चिकित्सकको उपस्थितिमा उपचार भइरहेको दृश्य यतिबेला भेरी अस्पतालमा देखिन्छ । बिरामीको उपचार उच्च मनोबलका साथ खटिएका स्वास्थ्यकर्मीले गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

“कोभिडका बिरामी थेगिनसक्नु छ, अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी आफै सङ्क्रमित हुनुहुन्छ । अस्पतालका सबै शय्या भरिए पनि हामी बिरामीलाई फिर्ता पठाउँदैनौ । नातागोता तथा भनसुनका भरमा नभई बिधि र पद्दतिबाट बिरामीको उपचार भइरहेको छ”, अस्पतालका अध्यक्ष धितालले भन्नुभयो, “बिरामीको चाप भेरी अस्पतालमा अत्याधिक बढी छ तर भेरीमा आउने बिरामी कम्तिमा एक घण्टा अक्सिजन पुग्ने एम्बुलेन्समा आउनु होला शय्या नपाउने हुँदैन हामी बिरामीलाई अस्पतालबाट उपचार नगरी फिर्ता पठाउँदैनौ ।”

भेरी अस्पताल नेपालगञ्जमा यतिबेला कोरोनाका बिरामीको अत्याधिक चाप रहेको छ । भेरी अस्पतालमा यतिबेला बाँके र लुम्बिनी प्रदेशका मात्र नभएर कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अत्यन्तै गम्भीर अवस्थामा पुगेका कोरोना सङ्क्रमित उपचारको लागि रेफर भएर आउने गरेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएको छ तरपनि अस्पतालले करिब ३०० सङ्क्रमितलाई उपचार गर्दै आएको बताउदै अध्यक्ष धितालले भेरीमा यो अवस्थामा बिरामी रेफर गर्दा अक्सिजनसहितको शय्याको अवस्था बुझेरमात्र रेफर गरिदिन सम्बन्धित अस्पताल, स्वास्थ्य संस्थालाई आग्रह गर्नुभयो ।

“पहाडी जिल्लाबाट सिफारिस भई आउने बिरामीसमेतको भेरी अस्पताल उपचार केन्द्र भएकाले पहाडी जिल्लाका बिरामी थेग्न सक्ने गरी अस्पतालले उपचारको लागि तयारी गरेको छ”, अध्यक्ष धितालले भन्नुभयो, “भेरी अस्पतालमा शय्या अभावका कारण कतिपयले भुईंमा सुतेर उपचार गराइ रहेपनि उपचारका हर सम्भव प्रयास गरिएको छ, लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीसमेतलाई अस्पतालले तत्काल जाँच गर्ने प्रबन्ध मिलाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर