एमसीसीसँग साम्राज्यवादका दाह्रा- नंग्रा आउँदै छन् भन्दै पोखरा पुगेर गर्जिए विप्लव — OSNepal

एमसीसीसँग साम्राज्यवादका दाह्रा- नंग्रा आउँदै छन् भन्दै पोखरा पुगेर गर्जिए विप्लव

LC (KTM) September 22, 2021 0

पोखरा, ६ असोज – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा स्वीकार नहुने बताएका छन् । पोखरामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले डलरको लोभमा सत्ताले एमसीसी ल्याउन खोजेको भन्दै त्यसको प्रतिवाद आफूहरूले गर्ने बताए ।

‘एमसीसीको ठूलो बहस छ । एमसीसीबारे यत्रो बहस किन हुँदै छ ? नेपालको भाँडभैलोमा अमेरिका ठूलो फाइदा उठाएर हिँड्न चाहन्छ । नेपाललाई असफल आफैँ बनाउने र त्यसको फाइदा आफूले लिने, लुट्ने साम्राज्यवादीहरूको नीति हो’, उनले भने, ‘जनतालाई निराश बनाउने, फुटाउने र देशमाथि घोडा चढ्ने साम्राज्यवादीहरूको चरित्र हो ।’

एमसीसी डलरसँगै साम्राज्यवाद बोकेर आउन लागेको उनको तर्क छ । ‘एमसीसीको नाममा डलर बोकेर आउँदै छन् । यससँगै भित्रबाट अमेरिकी साम्राज्यवादका दाह्रा-नंग्रा यहाँ घुस्दै छन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ’, विप्लवले भने, ‘यो कुरा सत्तामा बस्ने पार्टीहरूले किन नबुझेको ? रकमी भाषा किन प्रयोग गर्ने ? एमसीसी बोकेर हिँड्नु भनेको आगोको भुंग्रो बोकेर हिँडेजस्तै हो । कसैले एमसीसी जबर्जस्ती लाद्छु भन्यो भने त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ । हामी छौँ यहाँ ।’ उनले एमसीसीको सट्टा एनसेलको बक्यौता उठाउनुपर्ने सुझाव दिए ।

अहिलेको संसदीय व्यवस्था असफल भइसकेको समेत उनले बताए । ‘यो व्यवस्था असफल भयो । चलेन नि त ! हामीले त २०७३ सालमै भनेको हो, संसदीय व्यवस्था चल्दैन । संसदले लाद्ने व्यवस्था र जनताको चाहना अलग अलग छ’, उनले भने, ‘हामीले त्यो भनेका थियौँ । त्यतिबेला कसैले सुनेन तर आज चलेन । राज्य चलेन, सरकार चलेन, नेताहरू चलेनन्, पार्टी चलेन । अनि, सबै चलाउन मालिकहरू आउनुपर्ने भयो ।’

विदेशीहरूका इशारामा मुलुक चलेको उनको आरोप छ । ‘घरि मालिक राति १२ बजे आइपुग्छ । घरि प्लेन रिजर्भ गरेर आउँछ, घरि डलर बोकेर आउँछ । घरि डण्डा बोकेर आउँछ । घरि मालिक बन्दुक बोकेर आउँछ’, विप्लवले भने, ‘हाम्रा पार्टीका नेता भनिने अनुचरहरू उनका अगाडि कान समातेर उठबस गर्छन् । यसमा कुन किसानको चित्त बुझेको छ ? कुन युवाको चित्त बुझेको छ ? सबै क्षेत्रमा अस्तव्यस्तता छ ।’

महासचिव विप्लवले जनमतसंग्रहको माग पनि गरेका छन् । ‘जनता हामीसँग छन् । हामी बन्दुकमा मात्र विश्वास गर्ने मान्छे होइनौँ । बन्दुक रहर होइन, बाध्यता हो । यदि सरकारले शान्ति चाहेको हो भने, आउनुहोस्, बन्दुकको कुरा होइन, शान्तिको कुरा गर्दै आएका छौँ’, सरकारसँगको तीन बुँदे सहमति देखाउँदै उनले भने, ‘ल आउनुहोस्, लडौँ न त ! नेपाली जनताको मत जाँचौँ । प्रतिस्पर्धा गरौँ । बाकस थापौँ, भोट हालौँ । नेपाली जनताले यही गएगुज्रेको संसदीय व्यवस्था रोज्छन् कि हाम्रो नयाँ भविष्यको समाजवाद रोज्छन्, प्रतिस्पर्धा गरौँ ।’

माओवादी र नेपालको कम्युनिस्ट पार्टी पनि असफल भइसकेको भन्दै उनले कम्युनिस्ट आन्दोलनको नेतृत्व आफूहरूले लिने दबी पनि गरे ।
‘हामी मर्ने र बाँच्नेको परवाह थिएन । आँखामा एउटा मात्र सपना थियो, जनयुद्ध सफल पार्ने । साम्यवाद ल्याएर सबै जनतालाई एउटै जीवन दिने चाहना थियो । नेपालका गाउँहरूमा आगो लाग्यो । ठूलो जागरण ल्यायौँ’, उनले भने, ‘कम्युनिस्टहरूले क्रान्तिबाट परिवर्तन ल्याएको समाजमा, माओवादी भन्नेहरूले सत्ता चलाइरहेको देशमा, जनयुद्ध हाँक्यौँ भन्नेहरू सत्ताको कुर्सीमा बसिरहेको देशमा २१औँ शताब्दीमा दास जस्तो व्यापार गर्ने सत्ता जनताको सत्ता हुन सक्दैन । नेपालमा गणतन्त्र त आयो तर फेरि फर्केर हेर्दा नेपाली जनताको जीवनमा खास परिवर्तन आएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर