काठमाडौँ ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने बताएका छन् ।
आज बुधबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताएका हुन् ।
‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर अहिलेको जल्दाबल्दा समस्याका साथै भावी दिनमा आउन सक्ने समस्याबारे पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ’ उनले भने ।
परराष्ट्र नीति कुनै दल विशेषको नहुने बताएका उनले राष्ट्रिय सहमतिका साथ अघि बढने आफ्नो प्रतिवद्धता रहेको बताएका छन् । यस मन्त्रालयलाई आफुले एउटा गतिशील र आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउने चाहेको समेत बताएका छन् ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफु केन्द्रित रहेको समेत बताएका छन् ।