गैंडा दिवस : बासस्थान व्यवस्थापन र चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण — OSNepal

गैंडा दिवस : बासस्थान व्यवस्थापन र चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

LC (KTM) September 22, 2021 0

चितवन, ६ असोज । बुधबार गैंडा दिवस । विश्वमै दुर्लभ मानिएको एकसिंगै गैंडाको संरक्षण चुनौतीपूर्ण बनेको छ । गैंडाको बासस्थान व्यवस्थापनमा सरकारले पर्याप्त बजेटको व्यवस्था गर्न नसक्दा मानव र गैंडाबीचको द्वन्द्व बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडाको प्रमुख बासस्थान भएको क्षेत्र हो । गैंडा गणना २०७७ अनुसार नेपालमा सात सय ५२ वटा गैंडा छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा छन् । शुक्लाफाँटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा तीनवटा गैंडा छन् ।

६ वर्षअघि भएको गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा फेला परेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६ सय पाँचवटा गैंडा थिए । ६ वर्षमा एक सय सातवटा गैंडा बढेका हुन् ।
पछिल्लो समय गैंडाको संरक्षणका लागि गैंडाको बासस्थान व्यवस्थापन र चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण बनेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् ।

‘राम्रोसँग बासस्थान व्यवस्थापन गर्न सकियो भने गैंडा निकुञ्ज बाहिर जान रोकिन्छ’, उनी भन्छन्, ‘त्यसो गर्न सके मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि घट्छ । अहिले चाँही बासस्थान व्यवस्थापन मुख्य समस्या भयो । हाम्रो निकुञ्जभित्र राम्रो बासस्थान नभएकाले त गैंडा बाहिर गएका हुन् ।’

गैंडाको लागि निकुञ्जभित्रै राम्रो बासस्थान बनाउन र चोरी शिकार नियन्त्रण गर्न सके गैंडाको संरक्षणमा उल्लेख्य प्रगति हुने उनले बताए । निकुञ्जले गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ३६ सय हेक्टरमा घाँसे मैदान व्यवस्थापन गरेको थियो । ४० वटा पोखरी निर्माण तथा मर्मत भएका थिए ।

यस आर्थिक वर्ष २०७८/७९ मा बासस्थान व्यवस्थापनको लागि एकदमै न्यून बजेट रहेको बरालले बताए । यस आवमा करिब तीन सय हेक्टरमा मात्र घाँसे मैदान व्यवस्थापनका लागि बजेट आएको उनले जानकारी दिए ।

‘घाँसे मैदान व्यवस्थापनका लागि गत आवमा प्राप्त बजेटको १३ प्रतिशत मात्र यस आवलाई दिइएको छ’, उनले भने, ‘यस हिसाबले बासस्थान व्यवस्थापनको काम एकदमै न्यून हुने भयो ।’

निकुञ्जको मध्यवर्ती सामुदायिक वनहरूमा पनि बासस्थान व्यवस्थापनका लागि खासै बजेट नरहेको उनले बताए । कोरोना महामारीका कारण सामुदायिक वनले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जसले गर्दा वन्यजन्तु संरक्षणमा जनसहभागीता पनि कम हुन जाने देखिएको छ ।

गैंडाको संरक्षणमा चोरी शिकारी गम्भीर चुनौतिका रूपमा रहेको बरालले बताए । निकुञ्जले गैंडाको चोरी शिकारीमा संलग्न गत आवमा २८ जना र यस आवमा पाँच जनालाई पुर्पक्षका लागि पठाएको उनले जानकारी दिए । अन्य पक्राउ परेका व्यक्तिलाई केही दिनमा सार्वजनिक गर्ने निकुञ्जको तयारी छ ।

सजाय भोगेर आइसकेका व्यक्तिले पुनः चोरी शिकारीको नेतृत्व गरेको पाइएको बराल बताउँछन् । निकुञ्जले गैंडाको खाग तस्करीमा संलग्न भएका विदेशी नागरिकलाई पक्राउ गर्न सकेको छैन । विशेषगरी चीनमा गैंडाको खाग तस्करी गरेर लैजाने गरिएको छ ।

‘अहिलेसम्म चीनमा गएर त्यस्ता तस्करीलाई समाउन सकेको अवस्था छैन’, उनी भन्छन्, ‘नेपालमै बसेका तिब्बतीयनहरूलाई त समातिएको छ । विदेशीलाई समाउन सकिएको छैन ।’
गत आवमा चोरी शिकारीबाट चारवटा गैंडा मरेका थिए । यस आवमा शिकारीले गैंडा मार्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर