बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा के भएको भन्नेबारे प्रष्टीकरण दिन गच्छदारले आज पत्रकार सम्मेलन गर्ने — OSNepal

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा के भएको भन्नेबारे प्रष्टीकरण दिन गच्छदारले आज पत्रकार सम्मेलन गर्ने

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज- ललिता निवासले चर्चेको बालुवाटारको सरकारी जग्गा हिनामिनाको अभियोगमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

३० असारमा विशेष अदालतको आदेशबाट १० लाख धरौटीमा रिहा भएका गच्छदारले ललिता निवास प्रकरणमा के भएको भन्नेबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले आफूले यथार्थ बाहिर ल्याउने दाबी गरेका छन् ।

तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुनेछ ।

सरकारी जग्गा व्यक्तिको नाममा पार्नेगरी विभागीय मन्त्रीको हैसियतमा गैरकानूनी रुपमा भूमिका खेलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको छ ।

अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरेर भ्रष्टाचार गरेको अभियोगमा अन्य १७४ जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ । यो मुद्दाको टुंगो भने लागेको छैन । कतिपय अभियुक्त धरौटीमा रिहा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर