एकाएक किन खारेज गरियो माईपोखरी धार्मिक वन ? — OSNepal

एकाएक किन खारेज गरियो माईपोखरी धार्मिक वन ?

LC (KTM) September 22, 2021 0

इलाम, ५ असोज-रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल रहेको माईपोखरी रहेको माईपोखरी धार्मिक वन विघटन भएको छ ।डिभिजन वन कार्यालयले स्थानीयलाई हस्तान्तरण गरेको धार्मिक वन विघटन गर्दै उपभोक्ता समितिबाट वन फिर्ता लिएको हो । धार्मिक वन उपभोक्ता समिति नै निस्क्रिय भएपछि धार्मिक वन खारेज गरिएको डिभिजन वन अधिकृत इन्द्रमणि भण्डारीले बताए ।

‘धार्मिक वन हस्तान्तरण भएको समिति नै छिन्नभिन्न भएको रहेछ’, डिभिजन वन अधिकृत भण्डारीले भने, ‘समूहको साधारणसभा पनि छैन, नवीकरण पनि छैन, लेखापरीक्षण पनि छैन ।उपभोक्ता समिति नै निस्क्रिय भएपछि धार्मिक वन खरेज गरिएको हो ।’

माईपोखरी आसपासको वन क्षेत्र १० वैशाख २०६२ मा धार्मिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको स्थानीय धार्मिक संस्थालाई धार्मिक वन हस्तान्तरण गर्नुपर्ने भए पनि माईपोखरी धार्मिक वन भने हस्तान्तरणकै चरणमा त्रुटि भएको डिभिजन वन अधिकृत बताउँछन् ।

‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संघसंस्थालाई धार्मिक वन हस्तान्तरण गर्नुपर्थ्यो’, डिभिजन वन अधिकृत भण्डारीले भने, ‘सुरुमा नै लुज फोरमलाई वन हस्तान्तरण गरिएको रहेछ ।’

वन कार्यालयले खारेज गरेको धार्मिक वन क्षेत्रलाई अन्य सामुदायिक वन क्षेत्रमा गाभ्ने वन कार्यालयको तयारी छ । १२.२१ हेक्टर क्षेत्रफल रहेको धार्मिक वनलाई भेडीचोक सामुदायिक वन र भालुकटेरी सामुदायिक वनमा धार्मिक वन खण्डकै रूपमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यामबहादुर रुम्बाले बताए ।

‘त्यहाँ रहेका दुई सामुदायिक वनको व्यवस्थापन कार्यायोजना बनाएर धार्मिक वनको उद्देश्य मेल खाने गरी धार्मिक वन खण्डको रूपमा व्यवस्थापन गर्छौं’, सहायक वन अधिकृत रुम्बाले भने ।

डिभिजन वन कार्यालयले समुदायमा हस्तान्तरण गरेको सामुदायिक वन खारेजीमा चित्त नबुझे ३५ दिनभित्र प्रदेश वन निर्देशनालयमा उजुरी गर्न सकिन्छ । माईपोखरी धार्मिक वन खारेज भएको ३५ दिनको समयसीमा गुज्रिन लागेको छ । माइपोखरी धार्मिक वन समूहले धार्मिक वनको खारेजी गर्न सहमति दिएकाले कुनै उजुरीको संभावना नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।धार्मिक वनको खारेजीले रामसार सूचीमा सूचीकृत माईपोखरीको सन्दर्भमा कुनै फरक नपार्ने डिभिजन वन अधिकृत भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर