अफगानिस्तानमा तालिवानले शासन सत्ता कब्जामा लिए पछि उसलाई अन्र्तराष्ट्रिय समर्थन मिलिरहेको छैन । यस्तो अवस्थामा पाकिस्तानले समेत केही शर्त पुरा गर्नु पर्ने बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा नयाँ सरकार गठन गरेको तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि थप संवेदनशील हुनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री कुरेशीले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि अझै धेरै काम गर्नुपर्ने बताए । उनले तालिवानले सबैभन्दा पहिला आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्ने र थप संवेदनशील हुनुपर्ने प्रतिक्रिया दिए ।
अन्तर्राष्ट्रिय समुदायले तालिवानको ब्यवहार र शैलीलाई अहिले नियालिरहेको र तालिबानले विश्वास दिलाउनुपर्ने, अन्तर्राष्ट्रिय परामर्श गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनका विषयमा गम्भिर बन्नुपर्ने उनको भनाई थियो ।