पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान अधिकारको माग — OSNepal

पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान अधिकारको माग

LC (KTM) September 21, 2021 0

खोटाङ, ५ असोज- अखिल नेपाल महिला संघ (क्रान्तिकारी) खोटाङले पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान अधिकारको व्यवस्थाको माग गरेको छ । ‘महिला र पुरुष एक रथका दुई पांग्रो’ भएको उल्लेख गर्दै अनेमस (क्रान्तिकारी)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था गर्नका लागि पहल गर्न माग गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापन–पत्र बुझाउँदै अनेमस (क्रान्तिकारी)ले हरेक सामाजिक रुपान्तरणका आन्दोलन महिलाको सहभागिताविना सफल हुन नसक्ने स्मरण गराएको छ ।

जिल्ला अध्यक्ष ध्रुवा राईले बुझाएको ज्ञापन–पत्रमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले लैंगिक उत्तरदायी बजेट १० प्रतिशत व्यवस्था गरी जनचेतना, तालिम तथा सीप सिकाइ आदिमा प्रयोग गर्न, आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण बनाउन, प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह (सेफ हाउस)को व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।

यस्तै, स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाताको वरपर निश्चित दुरीसम्म धुम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न, मावि तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीलाई आराम कक्ष शौचालयको व्यवस्था, सेनेटरी प्याडको सहज व्यवस्था गर्न, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई महिला हिंसामुक्त पालिका घोषणा गर्न, नगरपालिकाभित्रका माबिमा एक जना स्टाफ नर्सको व्यवस्था गर्न, नगरपालिकाबाट महिलाको क्षमता विकास सम्बन्धी कार्यक्रम आयोजना गर्दा सर्वपक्षीय सहभागिताको व्यवस्था गर्न भनिएको छ ।

ज्ञापन–पत्रमा सबै गर्भवती महिलालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था गर्न, हिंसा पीडित महिलाको लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन, छोरी जन्मेपछि खाताको व्यवस्था र मावि शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरिएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले जनाएको छ ।

संविधानको प्रस्तावनादेखि नै सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्ने संकल्प गर्दै मौलिक हक अन्तर्गत महिला हक, समानताको हक र सामाजिक न्यायको हक, पैतृक सम्पत्तिमा महिलाको समानताको हक तथा आमाको नामबाट नागरिकता प्राप्त गर्ने लगायतका हकलाई व्यवहारमा लागू गर्नु सबैको कर्तव्य र दायित्व भएको जिल्ला अध्यक्ष राईले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर